Monday, September 03, 2007

तराईका समूहहरुमा फूट

तराईमा सकृय मधेशी जनअधिकार फोरम राजनीतिक दलमा परिणत भएको ६ महिना नबित्दै टुक्रिएको छ।

मधेश आन्दोलनबाट चर्चामा आएको फोरम र सरकारबीच भएको २२ बुंदे सहमतिको विरोध गर्दै केही नेताहरूले संयोजक उपेन्द्र यादवलाई साधारण सदस्यबाट निलम्वन गरेको घोषणा गरेका छन्।

सात सदस्यीय सचिवालय समितिका चार जनाले बहुमतबाट संयोजक यादवलाई निलम्बन गरेको जनाएका छन्।

तर यादव पक्षधरहरुले हाल सचिवालय गठन नै नभएको जनाउंदै केन्द्रीय समितिको निर्णयलेमात्र सदस्यताबाट निलम्बन गर्न सकिने तर्क अगाडि सारेका छन्।

अर्को तर्फ सशस्त्र विद्रोहमा उत्रेको जनतान्त्रिक तराई मुक्ति मोर्चामा निष्काशन र नयाँ समूह खोल्ने क्रम जारी छ।

आशा र निराशा

हाम्रा जनकपुरस्थित संवाददाता भन्छन्, हालै सरकार र फोरमबीच सहमति भएपछि तराईमा समेत संविधानसभाको चुनावले गति लिने अपेक्षा गरिएको थियो।

तर उनी भन्छन्, केही सत्तारुढ दल र तराईका सशस्त्र समूहहरुले सहमतिको कडा विरोध गर्न थालेपछि फोरम र सरकारबीचको सहमति चुनावका लागि खासै प्रभावकारी हुन नसक्ने देखिएको छ।

फोरमको एउटा समूहले संविधानसभाको चुनावमा सकृय रुपले भाग लिने बताएपनि अर्को असन्तुष्ट पक्षले चुनावमा भाग नलिने संकेत दिदै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेकोछ।

दुवै पक्षले आफूलाइ आधिकारिक भएको दावी गरिरहेका छन्।

सरकार र फोरमबीचको सहमतिलाई ऐतिहासिक भनिए पनि अब त्यसको कार्यान्वयन हुने नहुनेमा आशंका उब्जिएको छ।

संयोजक यादवलाइ निलम्वन गरेको बताउंदै असन्तुष्ट पक्षका एकजना सचिवालय सदस्य जीतेन्द्र सोनलले यस अघि पनि सचिवालयको निर्णयबाट विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष केशव झालाई हटाइएको बताए।

तर यादव पक्षका केन्द्रीय सदस्य बी पी यादवले केही मानिसले भन्दैमा कोही निलम्वन नहुने दावी गरे।

अर्को फूट

अर्को तर्फ छुट्‍टै तराई राज्यको माग गर्दै सशस्त्र विद्रोहमा उत्रिएको जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट तेस्रो समूह बाहिरिएको छ।

जयकृष्ण गोइत संयोजक रहेको मोर्चाबाट अलग्गिएर ज्वाला सिंह, विष्फोट सिंह र पछिल्लो पटक पवनको नेतृत्वमा संगठन खोलिएकोछ।

पवनले अधिवेशनबाट गोइत र एक जना केन्द्रीय सदस्य प्रकाशलाई निष्कासन गरेको दावी गरेका छन्।

तर मोर्चाका केन्द्रीय सदस्य प्रकाशले संगठनको नीति विपरित चन्दा, अपहरण लगायतका कार्यहरू गरेकाले निष्काशनमा परेकाहरूले जनतामा भ्रम सृजना गर्न खोजेको आरोप लगाए।

No comments: