Thursday, March 22, 2007

अन्तरिम सरकार गठनबारेको वार्ता लम्बियो

अन्तरिम सरकार गठनबारेको वार्ता लम्बियो
 
माओवादी सहितको अन्तरिम सरकार बनाउने कुरा फेरि लम्बिएको छ।

यो विषयमा निर्णय गर्ने अपेक्षा गरिएको आठदलका शीर्ष नेताहरूको बुधवारको बैठकमा सरकार बनाउने बारे कुरै भएन।

माओवादी ज्यादतीको विरोधमा एक्कासी चर्केको उद्योगी र व्यापारीहरूको सडक आन्दोलन र रौतहटमा माओवादी कार्यकर्ता र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच भएको रक्तपातपूर्ण भीडन्तको छायाँमा परेको सो बैठक तिनै दुई विषयमा केन्द्रित रहेको थियो।

छानवीन

उद्योगी र व्यापारीहरूलाई सुरक्षा दिने र रौतहट गोली काण्डको छानबीन गर्ने दुइ प्रमुख निर्णय गर्दै बैठक सकिएको थियो।

सहभागी एकजना नेता नेकपा एमालेका झलनाथ खनालका अनुसार अन्तरिम सरकारको गठनको कुरा एजेन्डामा नै परेन।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डकाबीच अन्तरिम सरकार गठन गर्नेबारे अनौपचारिक कुराकानी भएको थियो, तर मन्त्रालय बाँडफाँडबारे बल्झिएको विवादको समाधान निस्कन सकेन।

बरू प्रधानमन्त्री कोइरालाले अन्य दलका प्रमुख नेताहरूसंग बिहिवार र शुक्रवार थप परामर्श गर्ने तय भएको बताइएको छ।

माओवादी अध्यक्ष प्रचण्ड बिहिवार पार्टी कार्यक्रमका सिलसिलामा जुम्ला जाने भएकाले शीर्ष नेताहरूको अर्को बैठक शुक्रवार मात्र हुनेछ।

निर्णायक हुने भनिएको उक्त बैठकपछि मात्र अन्तरिम सरकारको टुंगो लाग्ने आठदलका नेताहरूको भनाइ छ।

काठमाण्डौंस्थित बीबीसीका एक संवाददाता भन्छन्, "यस्तो भनाइ पटक, पटक गलत सावित भएकाले माओवादी सहितको अन्तरिम सरकार गठन गर्ने कुरा अझै पनि अनिश्चयको घेरामा छ।"

http://www.bbc.co.uk/nepali/news/story/2007/03/070321_int_govt_talks.shtml