Friday, January 05, 2007

शोभातालका मुक्त कमैयाहरू ब्यवस्थित

पश्चिम नेपालको पाँच जिल्ला र राजधानी काठमाण्डौमा जुलुस धर्ना गर्दै विरोधमा उत्रेका मुक्त कमैयाहरूको आन्दोलन सरकारसंग सहमति भएपछि बिहीवारदेखि टुङ्गिएको छ।

पुनर्स्थापना हुन बाँकी झण्डै १८ हजार परिवारको पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका ती परिवारहरूले यसअघि पनि सरकारसंग सहमति गरेका थिए।

सरकारसंग दोश्रो पटक भएको यो सहमति कार्यान्वयन हुन्छ या हुँदैन भन्ने बाँकी रहँदा कन्चनपुर जिल्लाको शोभाताल शिविरका एक हजार भन्दा बढी मुक्त कमैया तीन वर्षअघि ब्यवस्थित भएदेखि खुसी छन्।

३३२ परिवार मुक्त कमैयालाई सरकारी संस्थामा आवद्ध गराई जोत्न ट्र्याक्टर र पानीका लागी बोरिङ् र पम्पिङ् सेट उपलब्ध गराइदिएपछि थोरै भउपनि उनीहरूलाई आफ्नै जग्गामा खेतीपाती गर्न सुविधा भएको थियो।

मेहनतको फल

एकजना मुक्त कमैयाले बीबीसीलाई भने, ''घर सर सबै पाइयो, आफ्नो खुट्टामा उभिएका छौं जस्तो लागिरा'छ आजकाल। बच्चाहरू काममा पनि गैराखेका छन्। स्कूल पनि पढीरहेका छन्।''

सामूहिक रुपमा बेमौसमी तरकारी उत्पादन गरी छोराछोरीको पढाइ र घर परिवार चलाइरहेका उनीहरू विगतलाई सम्झिन पनि चाहँदैनन्।

ती परिवारहरू यतिखेर आफूहरूलाई जस्तै गैह्रसरकारी क्षेत्रको योजना अनि सहयोग हाल आन्दोलनमा उत्रिएका छूट मुक्त कमैया परिवारका लागि पनि सरकारी र गैह्रसरकारी क्षेत्रबाट गरिनुपर्छ भन्ने माग गरिरहेका छन्।

६ बर्षअघि मुक्त भएका कैलाली, कन्चनपुर, बांके, बर्दिया र दाङ्ग जिल्लाका ३५ हजार मुक्त कमैयाहरू मध्ये १२ हजार परिवारलाई सरकारले प्रति परिवार ५/५ कठ्ठा जग्गा, घर बनाउन १०/१० हजार नगद र काठ समेत उपलब्ध गराएको थियो।

सहयोगी संघसंस्था र मुक्त कमैया परिवारहरूका अनुसार झण्डै तीन हजार परिवारले परिचयपत्र र १८ हजार परिवारले जग्गा समेत पाउन सकीरहेका छैनन्।

No comments: